नियम १४
उम्मेदवारको बन्दसूची पेश गर्ने
 (१) नियम ३ को उपनियम (१) बमोजिमको निर्वाचन कार्यक्रम प्रकाशन भएपछि समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा भाग लिन चाहने दलले ऐनको दफा २८ बमोजिम तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लिखित मिति र समयभित्र अनुसूची बमोजिमको ढाँचामा आयोग समक्ष पेश गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम दलले उम्मेदवारको बन्दसूची पेश गर्दा प्रत्येक समावेशी समूहबाट कम्तीमा पचास प्रतिशत महिलाको नाम समावेश गर्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम दलले उम्मेदवारको बन्दसूची पेश गर्दा कम्तीमा चार दशमलव तीन प्रतिशत पिछडिएको क्षेत्रका उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ । (४) उपनियम (१) बमोजिम दलले पेश गरेको बन्दसूचीमा समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने कुल सदस्य सङ्ख्याको दश प्रतिशत भन्दा कम सङ्ख्यामा उम्मेदवारी दिएमा आयोगले त्यस्तो बन्दसूची दर्ता गर्ने छैन । (५) एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी दर्ता भएका दलले उम्मेदवारको बन्दसूची पेश गर्दा सम्बन्धित उम्मेदवार कुन राजनीतिक दलसँग सम्बन्धित हो सो समेत खुलाउनु पर्नेछ । (६) उम्मेदवारको बन्दसूची पेश गर्ने तथा सोउपर छानबीन गर्ने सम्बन्धी अन्य प्रकृया आयोगबाट स्वीकृत निर्देशिका बमोजिम हुनेछ ।